धितोपत्र बोर्डले सेयर खरिद गर्दा खोजिने स्रोतको सीमा एक करोड रुपैयाँ बनाउनुपर्ने प्रस्ताव गरेको छ। स्रोत देखाउनु व्यवस्थाले पनि सेयरमा नयाँ लगानी नआएको निष्कर्ष निकाल्दै बोर्डले सीमा एक करोड रुपैयाँ पुर्याउन हालै अर्थ मन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो। अहिले एकै दिनमा १० लाखभन्दा बढी रुपैयाँको सेयर किन्ने लगानीकर्ताले आय स्रोत देखाउनुपर्ने व्यवस्था छ। एघार सय ७५ बिन्दुमा पुगेको नेप्से ३ सय १३ अंकमा झर्नुको कारण स्रोत खुलाउने प्रावधान पनि एक भएको लगानीकर्ताहरु बताउँछन्। अर्थ मन्त्रालयका उच्च अधिकारीले सेयर खरिदमा स्रोत खोज्नुपर्ने सीमा बढाउने प्रस्ताव आएको स्वीकारे। 'स्रोतको सीमा बढाउने, नबढाउने निर्णय हुन भने बाँकी छ,' उनले भने। सम्पत्ति शुद्धीकरण कानुन बमोजिम अहिले दैनिक १० लाख रुपैयाँभन्दा बढीको सेयर खरिदमा स्रोत खोल्नुपर्छ। अहिले १० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद गर्ने व्यक्तिको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाईलाई सेयर ब्रोक्ररले दिने गर्छन्।
सेयर खरिद स्रोतको सीमा बढाउने विषयमा सुझाव माग्दै बोर्डले सेयर ब्रोकर र मर्चेन्ट बैंकरलाई पत्राचारसमेत गरेको छ। 'दैनिक १० लाख रुपैयाँको सेयर कारोबारको सीमा बढाउन जरुरी छ,' एसोसियसनका अध्यक्ष अन्जन पौडेलले भने। चालु आर्थिक वर्षको बजेटले घरजग्गा खरिदमा स्रोत खोज्ने सीमा ५० लाखबाट बढाएर एक करोड बनाइएको छ। सवारी साधन खरिदको स्रोतको सीमा पनि २० लाखबाट वृद्धि गरी ५० लाख बनाइएको छ। 'घरजग्गा र गाडीको स्रोतको सीमा बढाएपछि सेयरमा पनि वृद्धि गर्न जरुरी छ,' पौडेलले भने। उनका अनुसार अहिले सेयरको मूल्य उच्चदरमा घटेकाले १० लाख रुपैयाँको सीमाले सबै लगानीकर्तालाई अप्ठेरो नपरेको हो। सेयरको मूल्य बढे अहिलेको सीमाले धेरैलाई समस्या पार्ने पौडेलले बताए। केन्द्रीय निक्षेप प्रणाली(सिडिएस) आएपछि दैनिक कारोबार बढ्ने अनुमान छ। कारोबार बढेको अवस्थामा स्रोत खोज्नुपर्ने अहिलेको सीमा न्यून हुने पौडेलले बताए।
No comments:
Post a Comment